वेदको अध्ययन तथा अनुसन्धान

 

गृह पृष्ठ
परिवार तथा तस्विरहरू
अध्ययन तथा अनुसन्धान
सम्पर्क
English version

 

वेदको अध्ययन

मैले कक्षा १ देखि विद्यावारीधि सम्मको अध्ययन निम्न संस्थाबाट पुरा गरेको छु ।
१) कक्षा १ देखि ७ सम्म: श्री सरस्वती निम्न माध्यमिक विद्यालय (हाल माध्यमिक), बबिया, सुनसरी, २०३३ - २०४० साल ।
२) कक्षा ८ देखि १० सम्म: श्री भगवती माध्यमिक विद्यालय, इनरूवा, सुनसरी, २०४० - २०४३ साल ।
३) प्रवेशिका (एस एल सी) प्रथम श्रेणी: श्री भगवती माध्यमिक विद्यालय, इनरूवा, सुनसरी, २०४४ साल ।
४) प्रवीणता प्रमाण पत्र तह (आई एस्सी) प्रथम श्रेणी: महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस, बिराटनगर, २०४४ - २०४७ साल ।
५) स्नातक (इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक कम्यनिकेशन) विशिष्ठ श्रेणी: पञ्जाब इन्जिनीयरिंग कलेज, चण्डीगढ, भारत, २०४८ - २०५२ साल ।
६) स्नातकोत्तर (कम्युटर साइन्स तथा इन्जिनीयरिंग): सउल नेशनल विश्वविद्यालय, दक्षिण कोरिया, २०५७ – २०६० साल ।
७) विद्यावारीधि (इन्फरमेटिक्स): द ग्राजुअट युनिवर्सिटी फर एड्भान्स्ड स्टडिज, जापान, २०६० – २०६३ साल ।

अनुसन्धान

मेरो अध्ययन तथा शोधको क्षेत्र विद्युतीय संचार र कम्प्युटर प्रविधिसँग सम्बन्धित छ । केहि वर्ष पहिले यी दुवै प्रविधिको सम्मिश्रणबाट इन्टरनेट सेवाको सुरूवात भएको हो । कम्युटरलाई टेलिफोन, केबुल टिभी अथवा ल्यान नेटवर्कको तारमा जोडेर इन्टरनेट सेवा सर्वसुलभ तरिकाले प्रयोग गरिएको यत्रतत्र देख्न पाइन्छ । हालै आएर ताररहित (वायरलेस) मोबाइल फोनबाट पनि सीमितरूपमा इन्टरनेट, ईमेल सेवा उपलब्ध हुन थालेको छ ।

मोबाइल फोनका अतिरिक्त ल्यापटप कम्प्युटर तथा अन्य उपकरणबाट पनि विभिन्न प्रकारका ताररहित नेटवर्क (जस्तो सेलुलर फोन नेटवर्क, वायरलेस ल्यान) का मार्फतबाट इन्टरनेट सेवा प्रदान हुन थाले पनि सेवाको गुणस्तर भने अझै सन्तोषजनक हुन सकेको छैन । हाल म सो सेवाको गुणस्तर वृद्धि गर्ने प्रविधि सम्बन्धमा सोध कार्य गर्दैछु ।

साथसाथै रेल, हवाइजहाज, बस जस्ता यातायातका साधनमा इन्टरनेट संरचना स्थापना गरी यात्रु वर्गलाई सर्वसुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धको सोध पनि गर्दैछु ।

भविष्यमा धेरै प्रकारका ताररहित नेटवर्कहरू उपलब्ध भएको खण्डमा उपभोक्ताले कुन नेटवर्क के के आधारमा छनौट गर्ने भन्ने सम्बन्धमा पनि अनुसन्धान गर्दैछु । यसका लागि सेवाको गुणस्तर तथा मूल्य र उपभोक्ताको आवश्यकतामा निर्भर हुने उपभोक्ता सन्तुष्टि (युजर सेटिस्फ्याक्सन) सुचांक परिभाषित गरेको छु । र, जुन नेटवर्कको प्रयोगबाट उपभोक्ता सन्तुष्टि सुचांक अधिकत्तम हुन्छ त्यही नेटवर्कको छनौट गर्ने विधिको विकासमा लागिपरेको छु ।

अहिलेको इन्टरनेट र मोबाइल फोनको प्रविधि विकासोन्मुख देशहरूका लागि अझै महगो छ । हामीले हाम्रै देशमा पनि भोगी रहेको कुरा हो – इन्टरनेटमा कुनै इमेल तथा फोटो डाउनलोड गर्न कति धेरै समय लाग्छ । बेला बेला त डाउनलोड पुरा हुनुभन्दा पहिले नै नेटवर्क काटिन जान्छ । मोवाइल फोनको पनि त्यस्तै हाल छ । एउटा फोनबाट अर्को फोनमा सम्पर्क धेरै प्रयास पश्चात मात्र सफल हुन्छ र त्यसपछि पनि एक अर्काको आवाज बुझ्न नै गाह्रो हुन्छ । यसको मुख्य कारण प्रबिधि महगो भएर नै हो । प्रबिधि महगो हुदा विकासोन्मुख देशका जनताले ब्यहोर्न सक्ने मूल्य तोक्नका लागि सेवाप्रदायकहरूले सीमित पूर्वाधारमात्र जडान गरी ग्राहक संख्या अधिकतम् बनाउन खोज्छन् । यसरी ग्राहक संख्या र नेटवर्क पूर्वाधार क्षमता बिच तालमेल नमिलेको हुनाले सेवाको गुणस्तर खस्किएको हो । सुलव मूल्यको संचार प्रविधिको विकास गरी उच्च स्तरिय सेवालाई सर्वब्यापी बनाउनु पर्छ भन्ने सोचका साथ म अगाडि बढिरहेको छु । त्यसैले भविष्यमा के कस्तो प्रविधिको विकास गरेमा इन्टरनेट जडान खर्च कम गर्न सकिन्छ भन्ने सोध पनि गर्दैछु ।

विकासोन्मुख देशहरुमा मात्र नभएर विकसित देशका लागि पनि इन्टरनेटको माध्यमबाट उपलब्ध हुने संचार सेवा त्यति भरपर्दो छैन । ३० वर्ष अघि इन्टरनेट प्रविधिको विकास गर्दाको उद्देश्य भने अहिलेको इन्टरनेटको प्रयोगको अबस्था संग त्यति मेल खादैन । त्यस बेला सीमित अनुसन्धान कर्ताका कम्प्युटरहरू एक अर्कासंग जोडेर बिश्वासिलो वातावरणमा तथ्यांक आदानप्रदान गर्ने उद्देश्यले इन्टरनेटको विकास गरिएको थियो । त्यही इन्टरनेटको विस्तार हुदै गई विभिन्न प्रकारका संचार सेवा प्रदान गर्दै अहिले यो विश्वव्यापी रूप लिएको छ । अहिलेको यो बृहत इन्टरनेटमा जोडिएका कम्प्युटर धनीहरू एक अर्कालाई चिन्दैनन् र विश्वास गर्ने अवस्था पनि छैन । खराब उद्देश्य राख्ने केही व्यक्तिले इन्टरनेटको नियमित कार्यलाई असर पार्न वा ठप्प नै पार्न पनि सक्छन् । यस्तो अविश्वासिलो वातावरणमा भरपर्दो संचार सेवा प्रदान गर्न निकै नै चुनौतिपूर्ण छ । यो त एउटा उदाहरण मात्र हो । अहिलेको इन्टरनेटका यस्तै यस्तै अरूपनि केही समस्याहरू छन् जसबाट छुटकारा पाउनका लागि नयाँ इन्टरनेट प्रविधिको विकास गर्नु आवश्यक छ ।

अमेरिका, युरोप, जापान तथा दक्षिण कोरियामा भविष्यको इन्टेनेट (Future Internet) को प्रविधिका सम्बन्धमा अनुसन्धान शुरू भइ सकेको छ । जापानमा त्यस्तो भावी इन्टरनेटको, जस्लाई ‘नयाँ पुस्ताको नेटवर्क’ (New Generation Network) भनिन्छ, अध्ययन र अनुसन्धान गर्नका लागि “आकारी प्रजेक्ट” को गत वर्ष स्थापना गरिएको छ। मैले अहिले काम गर्दै गरेको संस्थाले आकारी प्रजेक्टको नेतृत्व गरेको छ र म पनि त्यो प्रोजेक्टमा आबद्ध छु ।

मेरो अनुसन्धानका सम्बन्धमा अझ विस्तृत जानकारीका तल क्लिक गरी अंग्रेजीमा भएको पेज हेर्नु होला ।

Research and Study

 

©2006-2008 Kafles